धनगढी । भोलि (सोमबार) सुरु हुने सुदूरपश्चिम महोत्सवको उद्घाटनका लागि रामेश्वर खनाल धनगढी आउने भएका छन् । प्रदेशकै ठूलो आर्थिक तथा व्यापारिक उत्सवका रूपमा परिचित महोत्सवको १९ औँ संस्करणको उद्घाटन गर्न अर्थमन्त्री खनाल आउने भएका हुन् ।
महोत्सवको उद्घाटनअघि ट्राफिक चौराहदेखि बाँजा गाजा झाकीसहित ¥याली निकाल्ने कार्यक्रम तय गरिएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन हुन लागेको महोत्सव धनगढी १ पशुपति टोलमा रहेको खुला मैदानमा आयोजना हुँदैछ ।
महोत्सवको उद्घाटनमा कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, नेपाल रास्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना, विभिन्न मन्त्रालयका प्रतिनिधि, प्रदेश सरकारका मन्त्रीहरू, स्थानीय जनप्रतिनिधि, उद्योगी–व्यवसायी, समाजसेवी तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्करराज ओझाका अनुसार महोत्सवले सुदूरपश्चिम प्रदेशको उद्योग, व्यापार, कृषि, पर्यटन, कला र संस्कृतिको प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ । “स्थानीय उत्पादनलाई बजारीकरण गर्ने, उद्यमशीलता प्रवद्र्धन गर्ने र सुदूरपश्चिमको आर्थिक चलायमानता बढाउने हाम्रो मुख्य उद्देश्य हो,” अध्यक्ष ओझाले भने ।













