कैलाली । धनगढी–१४ फुलवारी एचगाउँ बस्दै आएकी अमिमा गुरुङले ढाका कपडा सिलाईको काम गर्न थालेको करिव ४ बर्ष भयो । आर्थिक अवस्था कमजोरका कारण उनी स्थापित हुनुको साटो विस्थापित हुँदै गएकी छन् ।
जसोतसो गरी ऋणको भरमा एक लाख ५० हजार लगानी गरी ढाकाटोपी उद्योग संचालन गरेकी उनले ८ हजार तलबमा एक जना कर्मचारी राखेर कामको सुरुवात गरेकी थिइन् । उनको उद्योगमा ढाकाको कपडाबाट महिलाको पहिरन सल,साडी,कुर्ता,सुरुवाल,व्याग,पर्स मोवाइलको हाते पर्सलगायतका सामान उत्पादन हुने गर्दछन् ।
लगानीको अभावमा उद्योग फष्टाउन नसकेको उनले बताइन् । फूलबारी क्षेत्रमा जनसंख्या कम हुनु र प्रचारप्रसारको कमीका कारण यहाँ त्यति चल्न नसकेको उनको भनाइ छ । लगानी भएको भए धनगढी आसपासका बजार र पूर्वका विभिन्न क्षेत्रमा रहेका बजारहरुमा उत्पादित सामान बेच्ने ठूलो धोको रहेको उनले बताइन् ।
‘यी सामाग्री उत्पादनमा मेहनत परिश्रम धेरै खर्चिनु पर्छ’ उनले भनिन् ‘एउटा सललाई एक हजार ५ सयदेखि २ हजार सम्म पर्छ ।’ प्रविणता प्रमाण पत्र तह पास गरेकी उनले आर्थिक अभावका कारण बीचमै पढाई छोडेर केही हुन्छकी भनेर उद्योग संचालन गरेकी थिइन् ।
‘उद्योग संचालन गर्दा पनि आर्थिक सुधार हुन सकेन’ उनले भनिन् ‘तर पनि केही भै हाल्छ की भनेर काम छोडेकी छैन । यस्तै अवस्था रह्यो भने उद्योग वन्द पनि हुन सक्छ ।’ उनले भनिन् ‘सरकार तथा अरु कसैको सहयोग छैन । घरेलु कार्यालय कैलालीमा अनुदान पाउँछ की भनेर दुई पटक फाराम भरेकी थिए । घरेलु कार्यालयवाट उद्योग हेर्न पनि आए तर चाँसो दिएनन् ।’
उद्योगबाट सोचे अनुसारको आर्थिक सुधार हुन नसकेको उनले बताइन् । कपडा सिलाउन डिजिटल मेसिनको आवश्यक्ता पर्ने र आर्थिक अभावका कारण सो मेसिन किन्न नसकिएको उनले बताइन् ।
उनले भनिन् ‘जेनतेन गरेर १० हजारमा सादा मेसिन किनेकी थिए तर यस्तो मेसिनले बाक्लो कपडा सिलाउन सकिदैन ।’ ‘मेरो उद्योगबाट राई,लिम्बु,गुरुङ मगरका साँस्कृतिक कपडा उत्पादन हुने गर्दछन् । यी जातिको वाहुल्यता कम छ यो कपडा उसरी राष्ट्रिय पोशाक जस्तै हो’ उनले भनिन् ‘चिनेकाले फाटफुट किनेर लैजान्छन् नचिनेकाले लग्दैनन् ।’
‘यो पोशाकको माग सुदूरपश्चिममा छैनकी भन्ने लाग्छ कहीँ कतैबाट अनुदान पाइएको भए विदेश र पूर्वका बजारमा पठाउने ठूलो धोको छ ।’ उनले भनिन् ‘५ जनाको परिवार छ श्रीमान बेरोजगार छन् उद्योगको अवस्था नाजुक हुँदा अन्य ठाउँमा काम त गर्नु नै पर्छ ।’
उनले भनिन् ‘आजभोलि फुलबारी १४ एचगाँउमै रहेको सिदार्थ निमाविमा पढाउने काम गर्छु । सीपलाई खेर जान नदिन फुर्सदको समयमा आफ्नो उद्योगमा कपडा बुन्ने काम गर्छु ।’
‘हामी जस्ता काम गरी खाने मानिसलाई कसैले पनि हेरविचार गर्दैन’ उनले भनिन ‘सरकार खै छ की छैन अहिलेसम्म महसुस गर्न पाएकी छैन । सरकार के हो उस्ले गर्ने काम के हाे , त्यो पनि आफूलाई जानकारी छैन ।’ ‘यहाँ हातमा सीप भएका मानिस बेरोजगार बस्न बाध्य छन्’ उनले भनिन् ‘सरकार भइ दिएको भए यस्तो समस्या हुने थिएन ।’













