कैलाली । कमाइसँगै पढ्ने चाहना हुँदा पनि काम पाउन नसकेकी कोमल रानालाई आजकल भने फुर्सद हुँदैन् । आर्थिक अवस्था कमजोरका कारण एसईई पास गरेकी उनले पढाइभन्दा पनि कामलाई महत्व दिइन् ।
उनले धनगढी उपमहानगरपालिकाले २०८१ फागुनमा संचालन गरेको सीप तथा रोजगार मेलामा हेयर कटिङ र व्युटीपार्लरको तालिममा भाग लिने मौका पाइन् । धनगढी–८ धनगढी गाउँ बस्ने रानाले तालिमको सदुपयोग गर्दै अहिले आफ्नै घरमा कोमल हेयर कटिङ एण्ड व्युटीपार्लर संचालन गरिरहेकी छन् । आजकल उनलाई फुर्सद नै हुँदैन ।
उनले विवाहमा वेहुला वेहुलीको श्रृंगारपटारका लागि आफूलाई बोलाउने गरेको बताइन् । वेहुला वेहुलीको श्रृंगारमा दिनको ५ हजार रुपैँया कमाइ हुने गरेको उनको भनाइ छ ।
जीवनयापन सहज बनाउन र आत्मनिर्भर बन्न कामको थालनी गरेको उनले बताइन् । उनले भनिन् ‘कहिले साथीले बोलाउछन् । कहिले फिल्म सुटिङ पनि माग आउने गरेको छ । म यो कामबाट संन्तुष्ट नै छु । ४ जनाको परिवार छ । घर खर्च राम्रै चल्छ । मासिक बचत पनि हुने गरेको छ ।’
सिजन अनुसार काम पाइने गरेको उनले बताइन् । विवाहको सिजनमा राम्रै आम्दानी हुने गरेको उनले बताइन् । त्यतिबेला मासिक ३० हजार कमाइ हुने गरेको उनले बताइन् । आफूले संचालन गरेको हेयर कटिङ र व्युटीपार्लरबाट मासिक २० हजार आम्दानी हुने गरेको उनले बताइन् ।
‘ठीकै छ काम अनुसार सन्तुष्ट नै छु’ उनले भनिन् ‘यदी धनगढी उपमहानगरपालिकाले सीप तथा रोजगार मेला संचालन नगरेको भए म जस्ता युवायुवती आत्मनिर्भर हुन सक्ने थिएनन् ।’
उनले भनिन् ‘आफ्नो पहिल्यै देखिको चाहना सीप सिकेर आत्मनिर्भर बन्ने थियो । त्यो चाहना धनगढी उपमहानगरपालिकाले पूरा गरेको छ सर्वप्रथम धनगढी उपमहानगरपालिका र नगरप्रमुख गोपाल हमाल दाजुलाई बिशेष धन्यवाद दिन चाहान्छु ।’
‘कामप्रति चाहना भए जस्तो सुकै काम गर्न कठिन नहुँदो रहेछ’ उनले भनिन् ‘मेरो सानै देखिको चाहना छोटो समयमा पूरा भएको छ । पढाइसँगै काम गर्ने चाहना थियो । तर सकिएन मैले कामलाई नै रोजे ।’ जीवनभर यो कामलाई निरन्तरता दिने उनको भनाइ छ ।















