धनगढी । भुवाचाली प्रतियोगितामा बाजुरेली सेवा समाज धनगढी प्रथम भएको छ । शनिबार भएको प्रतियोगितामा आयोजक समेत रहेको बाजुरेली समाज धनगढी प्रथम भएको हो ।
भुवाचाली प्रतियोगिताका निर्णायक संयोजक लालबहादुर थापाका अनुसार सुर्मादेवी मन्दिर व्यवस्थापन समिति धनगढी–१२ दोस्रो भएको छ भने बाजुरा–अछाम भुवा समिति तेस्रो भएको छ । यस्तैगरी बडीमालिका एकता समाज कञ्चनपुरले चौथो स्थान हासिल गरेको उनले जानकारी दिए ।
भुवाचाली प्रतियोगितामा प्रथम पुरस्कार रु ५० हजार, द्वितीय पुरस्कार ३० हजार र तृतीय पुरस्कार २० हजार तथा सान्त्वना हुनेलाई १५ हजार राखिएको छ । साथै,सहभागी सबै टोलीलाई १०–१० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो । सुदूरपश्चिमका पहाडी जिल्लाहरू बाजुरा, डोटी, अछाम, बझाङ लगायतका क्षेत्रमा आ–आफ्नै संस्कार र परम्परा अनुसार भूवापर्व मनाउँदै आइएको छ ।
पछिल्ला वर्षहरूमा पहाडबाट तराईका जिल्लाहरुमा बसाई सरेका समुदायहरूले पनि निरन्तर रूपमा यो पर्व मनाउँदै आएका छन् । पछिल्लो समय भुवा पर्व कैलाली, कञ्चनपुरमा पनि मनाउन थालिएको छ ।
पौराणिककालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनाका रुपमा यो पर्व मनाउने गरिन्छ । असत्यमाथि सत्यको विजयको खुसीयालीस्वरूप सो युद्धमा प्रयोग गरिएका ढाल र तरवार नचाई खेलिने खेल नै आजको भुवाचाली खेलको रूपमा विकास भएको ऐतिहासिक मान्यता रहेको छ ।













