धनगढी । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र कैलालीले पशुचौपायाका लागि विभिन्न रोगविरुद्धका खोप कार्यक्रमलाई तीब्रता दिएको छ । विज्ञकेन्द्रले चालु आवमा जिल्लाको १३ वटै स्थानीय तहमा खोप कार्यक्रमलाई तीब्रता दिएको हो ।
भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र कैलालीका प्रमुख चन्दकान्त पन्तले स्थानीय तहका पशुसेवा शाखामार्फत पशुचौपायालाई विभिन्न रोगविरुद्धका रोप लगाउने काम भइरहेको बताए ।
उनले हालसम्म कार्यालयबाट विभिन्न स्थानीय तहहरुमा गाई,गोरु,भैँसीलाई लगाइने लम्पीस्किनविरुद्धको ३७ हजार भ्याक्सिन डोज,बंगुरमा लगाइने १७ हजार स्वाइन फिवर भ्याक्सिन,भेडा बाख्रामा लगाइने २ लाख ६८ हजार पिपिआर डोज र गाईभैसीमा लगाइने एक लाख ५० हजार ६ सय खोेरेत डोज पठाइएको जानकारी दिए ।
उनले भने ‘हामीले विभिन्न रोगविरुद्धका खोप स्थानीय तहमा पठाइसकेका छौँ । लगाउने काम तीब्र रुपमा भइरहको छ ।’ उनले किसानलाई आफ्ना पशुचौपायालाई विभिन्न रोगबिरुद्धका खोप लगाउन समेत आग्रह गरे ।
त्यस्तै उनले पछिल्लो समय कैलाली र कञ्चनपुरमा रेबिज रोगको खतरा बढ्दै गएको बताए । उनले भने ‘पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा रेबिज रोगको शंका लागेर मरेका पशुचौपायाको नमूना परीक्षण गर्दा ८० प्रतिशतभन्दा बढीमा रेबिज पोजेटिभ देखिएको छ । यसबाट बच्न आवश्यक छ । सबैलाई आफ्ना घरपालुवा कुकुर,बिरालोलाई रेबिजविरुद्धको खोप लगाउन आग्रह गर्दछु ।’













