धनगढी । लेखराज भट्ट ले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–४, कैलालीका लागि आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट उम्मेदवार रहेका भट्टले बिहीबार आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्।
सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, औद्योगिकीकरण, पर्यटन प्रवर्द्धन तथा भौतिक पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखिएको छ। सुदूरपश्चिम प्रदेश र कैलाली जिल्लाको समग्र विकासलाई केन्द्रमा राखेर योजनाहरू अघि सारिएको उनले बताएका छन्।
शिक्षा, स्वास्थ्य र खेलकुदमा विशेष जोड
शिक्षा क्षेत्रतर्फ सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रवाह, प्रविधिमैत्री शिक्षण प्रणाली विस्तार तथा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने योजना समावेश गरिएको छ। शिक्षक तथा कर्मचारीको सेवा–सुविधा सुधार, पेशागत सुरक्षा र सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रतिबद्धता जनाइएको छ।
स्वास्थ्यतर्फ आधारभूत स्वास्थ्य केन्द्र तथा शहरी स्वास्थ्य क्लिनिकमा विशेषज्ञ सेवा विस्तार, आवश्यक जनशक्ति र उपकरण व्यवस्थापनमा जोड दिइने उल्लेख छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई लक्षित गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने र स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने योजना पनि समेटिएको छ।
सुदूरपश्चिम प्रदेशमा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई ६०० शय्याको अस्पतालका रूपमा विकास गरी एमबीबीएस अध्ययन सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
कृषि आधुनिकीकरण र किसानमुखी कार्यक्रम
कृषि क्षेत्रको विकासका लागि आधुनिक प्रविधि, उन्नत बीउ, मल तथा यान्त्रिकीकरणमा जोड दिइने बताइएको छ। सिँचाइ सुविधा विस्तार, कृषि उपजको उचित मूल्य निर्धारण, कृषि बीमा तथा कृषि आधारित उद्योग स्थापना गर्ने योजना अघि सारिएको छ।
तरकारी तथा फलफूल पकेट क्षेत्र विकास, शीत भण्डार निर्माण तथा कृषि बजार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ। किसानलाई बीउ, मलखाद तथा आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता पनि उल्लेख गरिएको छ।
औद्योगिकीकरण र रोजगारी सिर्जनामा जोड
औद्योगिक क्षेत्र विस्तार, औद्योगिक करिडोर विकास तथा कृषि ज्ञान केन्द्र स्थापना गरी रोजगारीका अवसर सिर्जना गर्ने योजना सार्वजनिक गरिएको छ। दलित, पिछडिएका समुदाय तथा गरिबीको रेखामुनि रहेका नागरिकलाई सीपमूलक तालिम सञ्चालन गरी आत्मनिर्भर बनाउने कार्यक्रम पनि समावेश गरिएको छ।
धर्म, संस्कृति र पर्यटन प्रवर्द्धन
क्षेत्रभित्र रहेका धार्मिक तथा सांस्कृतिक स्थललाई धार्मिक पर्यटकीय सर्किटका रूपमा विकास गर्ने योजना अघि सारिएको छ। थारू, मगर लगायतका समुदायको सांस्कृतिक सम्पदाको संरक्षण तथा संग्रहालय स्थापना गर्ने प्रतिबद्धता जनाइएको छ। साथै, होमस्टे प्रवर्द्धन तथा तालतलैयाको संरक्षणमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।
पूर्वाधार विकास र सेवा विस्तार
क्षेत्रभित्र सडक निर्माण, स्तरोन्नति, मोटरेबल पुल तथा झोलुंगे पुल निर्माण गर्ने योजना समावेश गरिएको छ। बाढी, पहिरो तथा नदी कटानबाट प्रभावित क्षेत्रको संरक्षणका लागि तटबन्ध निर्माण गरिने उल्लेख छ। विद्युत् नपुगेका बस्तीमा विद्युत् विस्तार तथा खानेपानी व्यवस्थापनमा समेत प्राथमिकता दिइने जनाइएको छ।
उम्मेदवार भट्टले लोकतन्त्रको आधार जनमत भएको उल्लेख गर्दै विकास, स्थायित्व र समृद्धिका लागि आफूलाई पुनः निर्वाचित गराउन मतदातासँग अपिल गरेका छन्। उनले आफ्नो प्रतिबद्धता कार्यान्वयन गर्दै क्षेत्रको समग्र विकास गर्ने दाबी समेत गरेका छन्।
कैलाली–४ मा लेखराज भट्टको प्रतिबद्धता सार्वजनिक : शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकास मुख्य प्राथमिकतामा
कैलाली–४ मा लेखराज भट्टको प्रतिबद्धता सार्वजनिक : शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकास मुख्य प्राथमिकतामा
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













