धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले नगरपालिकाकै अनुरोधमा लम्कीचुहा प्रादेशिक अस्पताल बनाइएको बताएका छन् ।
मन्त्रालयले लम्कीचुहा अस्पताल विवाद लगायत समसामयिक बिषयमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
लम्कीचुहा अस्पतालका बारेमा नगरपालिका र प्रदेश सरकारबीच विवाद भएपछि मन्त्री खड्काले पत्रकार सम्मेलनमार्फत मन्त्रालयको धारणा राखेका हुन् ।
उनले भने ‘कुनै पनि नगर अस्पताललाई प्रदेश सरकारले मात्रै स्तरोन्तति गर्न सक्दैन् । त्यसका लागि नगर कार्यपालिकाको निर्णय,प्रदेश मन्त्रीपरिषदको निर्णय र संघीय मन्त्रीपरिषद्को स्विकृति चाहिन्छ ।’
उनले ५० शय्याको अस्पताल सञ्चालनका लागि विभिन्न प्रकृयाहरु चाहिने बताउँदै त्यसको जनशक्ति व्यवस्थापन लगायतमा ओएनएम गर्ने काम समेत भएको बताए ।
उनले भने ‘लम्कीचुहा प्रादेशिक अस्पताल भइसकेपछि प्रदेश सरकारले दायित्व लिनुपर्ने भएकाले त्यहाँको स्थितिलगायत बिषयका लागि नगरपालिकालाई पत्रचार गर्दा उहाँहरु आउनु भएन ।’
त्यस्तै उनले अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा मेयर हुनुपर्छ भन्ने प्रस्ताव आएको बताउँदै सुदूरपश्चिम प्रदेश अस्पताल सम्बन्धि गठन आदेशमा मेयरलाई अध्यक्ष बनाउने व्यवस्था नभएकाले नबनाइएको बताए ।
उनले गठन आदेश अनुसार नै लम्कीचुहा प्रादेशिक अस्पतालको व्यवस्थापन समिति गठन भएको बताए ।
नगरपालिकाले लम्कीचुहा प्रादेशिक अस्पताल तथा व्यवस्थापन समितिका बारेमा सर्वोच्चमा मुद्दा हालेर अन्तरिम आदेश माग गरेको भएपनि अन्तरिम आदेश नआएको बताउँदै मन्त्री खड्काले कानुनीरुपमा लम्कीचुहा अस्पताल प्रादेशिक अस्पताल भइसको बताए ।
प्रदेश सरकारले सो अस्पतालका लागि चालु आवमा ४ करोड ८७ लाखभन्दा बढी बजेट समेत विनियोजन गरेको उनले बताए ।
केही दिनअघि सुदूरपश्चिम प्रदेश सरकारले लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनका लागि खटाएका कर्मचारीलाई नगरप्रमुख सुशीला शाहीले नगर प्रहरी लगाएर कार्यालयबाटै बाहिर निकालेको आरोप छ ।
त्यस्तै,बुधबार अस्पताल सञ्चालनको माग गर्दै स्थानीयले नगरपालिकामा तालाबन्दी गरेका थिए ।













