धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट अझै प्रदेश सभामा टेबुल हुन सकेको छैन । बजेट प्रस्तुत भएको दुई साता बितिसक्दा पनि सत्तापक्षकै असन्तुष्टिका कारण बजेट अलपत्र परेको हो ।
प्रदेश सरकारले असार १ गते मध्यरातमा ३७ अर्ब ७० करोड रुपियाँको बजेट सभामा प्रस्तुत गरेको थियो । तर मध्यरातमा बजेट आएपछि त्यससँग सम्बन्धित विनियोजन विधेयक र अर्थ विधेयक टेबुल भएनन् । अहिलेसम्म बजेट नै टेबुल नभएकाले सभाको बैठकको टुङ्गो लागेको छैन ।
सत्तापक्षकै विवाद
प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले सत्ता पक्षबिच कुरा नमिलेपछि कार्य व्यवस्था परामर्श समितिको बैठकले पनि बैठकको मिति टुङ्ग्याउन नसकेको बताए । ‘सभा सञ्चालनका लागि एकचोटी बैठक बसेको थियो । तर कुरो नमिलेपछि टुङ्गो लाग्न सकेन,’ उनले भने ।
सत्ता साझेदार दल नेकपा एमालेले बजेट संशोधन गर्न सरकारलाई दबाब दिएको छ । संशोधन नभए सरकारबाट बाहिरिने चेतावनी एमालेले यसअघि नै दिइसकेको छ। उता प्रमुख प्रतिपक्षी दल नेकपाले पनि बजेट असफल पार्ने उद्घोष गरिरहेको छ ।
असफल हुने डरले टेबुल गरेन
सार्वजनिक लेखा समितिका सभापति अक्कलबहादुर रावलले सरकार आफैं बजेट असफल हुने डरले टेबुल गर्न नचाहेको आरोप लगाए । ‘बजेटमाथि छलफलका लागि टेबुल हुनुपर्छ । तर असफल हुने डरले सरकारले टेबुलै गरेको छैन,’ रावलले भने ।
प्रदेश सभामा बजेट टेबुल भएपछि ७२ घण्टाको संशोधन समय हुन्छ। त्यसपछि मात्रै बजेटमाथि छलफल सुरु हुन्छ । तर सरकारले त्यो प्रक्रिया नै अगाडि बढाउन सकेको छैन ।














