धनगढी । बाजुराको बडिमालिका नगरपालिकाकाले ४४ जना छुट मुक्त हलियालाई परिचयपत्र वितरण गरेको छ । शुक्रबार एक समारोहका बीच छुट मुक्त हलियालाई नगरप्रमुख अमरबहादुर खड्काले परिचयपत्र वितरण गरेका हुन् ।
राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालको कानूनी तथा प्राविधिक सहयोगमा बडिमालिका नगरपालिकाले बि.सं २०८१ सालमा मुक्त हलिया पुर्नस्थापना कार्यविधि पारित गरि तथ्यांक संकलन गरेको थियो ।
संकलन गरिएको तथ्यांकका आधारमा छुट मुक्त हलियाहरुको प्रमाणिकरण र वर्गिकरण गरि २ जनालाई ‘क’ वर्ग र ४२ जना ‘ख’ वर्गको परिचय पत्र वितरण गरिएको राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालका सामुदायिक सहजकर्ता जनसरी सार्कीले बताइन् ।
संघीय सरकारले मुक्त हलिया पहिचान र पुनःस्थापनाको अख्तियारी स्थानीय सरकारलाई हस्तारण गरेपछि लामो समयदेखि राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालले स्थानीय तहहरुसँग मुक्त हलियाहरुको पहिचान र पुनःस्थापनाका लागि निरन्तर वकालत गर्दै आइरहेको थियो ।
छुट मुक्त हलियाहरुको प्रमाणिकरण, वर्गिकरण र परिचयपत्र वितरण प्रक्रियामा महासंघले लुथरन विश्व फेडेरेशन नेपालसँगको सहकार्यमा सञ्चालित स्थानीयदेखि विश्वव्यापी मानव अधिकार वकालत मार्फत नेपालमा सीमान्तकृत समुदाय र सामाजिक रुपमा बहिष्कृत जनसंख्याको सशक्तिकरण ीद्दन् परियोजनाले व्यवस्थापकीय सहयोग गरेको थियो ।
‘क’ वर्गको रातो परिचय पत्र पाएपछि बडिमालिका नगरपालिका–७ बस्ने बल सार्कीले खुशी व्यक्त गर्दै स्थानीय सरकारलाई धन्यवाद दिँदै छिट्टै सरकारले पुनःस्थापन गर्नुपर्ने बताए । कार्यक्रममा नगर प्रमुख खड्का र उपप्रमुख नन्दा थापाले स्थानीय सरकारद्धारा परिचयपत्र वितरण गरेका हलियाहरुको पुनःस्थापना गर्न प्रदेश र संघीय सरकारसँग मिलेर छिट्टै पुनःस्थापना कार्यक्रम सुरु गर्न पहल गर्ने बताए ।
संस्थाद्धारा सञ्चालित एल टु जी परियोजनाको सहयोगमा यो महत्वपूर्ण उपलब्धी हासिल भएको र यस्ता अभियानहरुलाई अझै अन्य पालिकाहरुमा पनि निरन्तर अधि बढाउने योजना रहेको संस्थाका कार्यकारी निर्देशक हरिसिंह बोहरा बताए । परिचयपत्र पाएपछि हलियाहरु उत्साहित भएका र अव छिट्टै सरकारले पुनःस्थापनाको कार्यक्रम ल्याउनु पर्ने संस्थाका केन्द्रीय अध्यक्ष रमेशराम कोलीले बताए ।













