धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बजेट प्रस्तुत गरेको तीन सातापछि प्रदेश सभामा टेबुल गरेको छ।
मंगलबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले बजेट, अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक तथा आर्थिक वर्ष ०८३/८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा बनेको विधेयक टेबुल गरेका हुन ।
त्यस्तै,बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले महालेखा परीक्षकको प्रतिवेदन, थारू आयोग, मधेशी आयोग र मुस्लिम आयोगको प्रतिवेदन पेस गरे ।
प्रदेश सभामा बजेट टेबुल भए पनि बजेटमाथिको छलफल भने अनिश्चित नै छ । बजेट र त्यससँग सम्बन्धित विधेयक तथा प्रतिवेदन पेस भएपछि सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरे।
मन्त्री धामीले गत १ असारको मध्यराति ३७ अर्ब ७० करोडको बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए।
सत्तारूढ दलमै बजेटको तीव्र विरोध भएकाले सदनमा बजेटमाथिको छलफल अझै अनिश्चित छ।













