धनगढी । लागूऔषध (खैरो हेरोइन) सम्बन्धी मुद्दामा पक्राउ परेर अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट फरार भएका टीकापुर नगरपालिका–२, राजीपुरका ३१ वर्षीय संजय नगार्जी पुनः पक्राउ परेका छन्।
प्रहरीका अनुसार असार ९ गते पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएका नगार्जी असार २१ गते राति करिब १२ बजे हिरासतबाट फरार भएका थिए।
फरार भएपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले खोजतलासलाई तीब्र बनाएको थियो। सोही क्रममा बिहीबार बिहान १०ः१५ बजे टीकापुर नगरपालिका–४ स्थित अस्नेरी चोक क्षेत्रबाट नगार्जीलाई पुनः पक्राउ गरिएको प्रहरीले जनाएको छ।













