धनगढी । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले रैथाने बाली प्रवर्द्धन गर्ने उदेश्यले जोरायली बासमती चामल खरिद गरेको छ ।
कार्यालयले चालु आवमा सरकारी अनुदानमा डोटीको जोरायलमा पाइने मसिनो बास्नादार बासमती चामल खरिद गरेको हो ।
कार्यालयले यस वर्ष साढे छ क्विन्टल चामल खरिद गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय प्रमुख दीपक थापाले जानकारी दिए ।
उनले कार्यालयले डोटी जिल्लास्थित खरिद समितिले निर्धारण गरेको मूल्यअनुसार प्रतिकेजी रु १ सय ६० का दरले चामल खरिद गरिएको बताए ।
उनले भने ‘हामी यसपटक जोरायलको बासमती चामल खरिद गरेका छौँ । यसको उदेश्य रैथाने बाली प्रवर्द्धन गर्ने हो ।’
बासमती चामल खानामा स्वादिलो,नरम र बास्नादार हुने गर्दछ ।
डोटीको जोरायल क्षेत्र मसिनो बास्नादार बासमती धान फल्ने ठाउँकारुपमा परिचित छ । जोरायली बासमती परम्परागत जातको धान हो ।
पछिल्ला वर्षमा यस क्षेत्रमा बासमती धानको व्यावसायिक खेती सुरु समेत गर्न थालिएको स्थानीय बताउँछन ।













