धनगढी। सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनबीच बजेट विवाद पेचिलो बन्दै गएको छ । कांग्रेस नेतृत्वको सरकारले असार १ गते ल्याएको बजेटबारे सत्ता गठबन्धनमै रहेको नेकपा एमालेले असन्तुष्टि व्यक्त प्रदेश सभामा खर्च कटौतिको प्रस्तावसमेत दर्ता गरेको छ ।
बजेटको विवादका बारेमा छलफलका लागि मुख्यमन्त्री कमलबहादुर शाहले आज विभागीयमन्त्री तथा राज्यमन्त्रीसँग छलफल गरिहेका छन् । यस प्रदेशमा कांग्रेस नेतृत्वमा रहेको सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा एमालेका मन्त्री र भौतिक पूर्वाधार विकास मन्त्रालयमा राज्यमन्त्री छन् ।
सरकारमा सहभागी दल एमालेले बजेट फेल गर्ने गरी खर्च कटौतीको प्रस्ताव दर्ता गरेको छ । यसैबीच एमालेका मन्त्रीहरूलाई सामूहिक रूपमा बोलाएर बजेटबारे राय लिने र त्यसपछि के गर्ने भन्नेबारे केन्द्रसँग छलफल गर्ने तयारी गरेका छन् ।
एमालेले बजेट फेल गर्ने बताएपछि मुख्यमन्त्री शाह सोमबार केन्द्रसँग छलफल गर्न काठमाडौं गएका थिए ।













