धनगढी । सामाजिक विकास कार्यालय कैलालीले चालु आर्थिक वर्षमा सञ्चालन भएका शिक्षा तथा सामाजिक विकाससम्बन्धी कार्यक्रमहरूको वार्षिक प्रगति समीक्षा गरेको छ ।
बुधबार धनगढीमा आयोजित समीक्षा कार्यक्रममा जिल्लाका सबै स्थानीय तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा शिक्षा, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित कार्यक्रमहरूको कार्यप्रगतिको समीक्षा गरिएको कार्यालयले जनाएको छ ।
प्रत्येक स्थानीय तहबाट शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तथा महिला प्रतिनिधि गरी तीन–तीन जना सहभागी भएका थिए ।
कार्यक्रममा कार्यालय प्रमुख कुलराज सोतीले चालु आर्थिक वर्षमा कार्यालयमार्फत सञ्चालित योजना तथा कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
कार्यालयका अनुसार प्रदेश सरकारअन्तर्गत सञ्चालन भएका शिक्षा तथा सामाजिक विकाससम्बन्धी कार्यक्रमहरूको उपलब्धिको मूल्याङ्कन गर्दै आगामी आर्थिक वर्षका योजना तथा कार्यक्रमलाई थप प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यले समीक्षा कार्यक्रम आयोजना गरिएको हो ।













