धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल अघि बढाउने निर्णय गरेको छ।
संसदीय दलका नेता खगराज भट्टको अध्यक्षतामा बिहीबार बसेको संसदीय दलको बैठकले सरकार गठनका लागि अरु दलहरूसँग संवाद गर्दै आवश्यक पहल गर्ने निर्णय गरेको हो।
बैठकले सरकार गठनका लागि अनुकूल वातावरण बनाउन वर्तमान मुख्यमन्त्री कमलबहादुर शाहलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ।
नेकपाले सरकारलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि महत्त्वपूर्ण नीति तथा निर्णय तत्काल नगर्न पनि अनुरोध पनि गरेको छ।
सत्तारुढ दल कांग्रेस र एमाले बीच आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे विवाद चर्किएपछि मुख्यमन्त्री शाहले बुधबार एमालेका मन्त्रीहरूलाई पदमुक्त गरेका थिए।
त्यसलगत्तै बिहीबार नै नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।













