काठमाडौँ । नेपाली कांग्रेसका निर्वमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा समूहले साउन महिनाभित्र काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ।
आइतबार काठमाडौँको चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो। उक्त समूहले पार्टी एकताका लागि गरिएका प्रयासहरू सार्थक हुन नसकेको र नेतृत्व एकलौटी ढंगले अघि बढ्न खोजेको आरोप लगाएको छ।
नेपाली कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४४ औँ स्मृति दिवस आगामी साउन ६ गते काठमाडौँको प्रज्ञा भवनमा भव्य रूपमा मनाउने निर्णय गरिएको नेता मीनबहादुर विश्वकर्माले बताए।
कार्यक्रम व्यवस्थापनका लागि नेता प्रकाशमान सिंहको संयोजकत्वमा एक आयोजक समिति गठन गरिएको छ। सोही कार्यक्रममार्फत राष्ट्रिय भेलाको मिति, समय र स्थान सार्वजनिक गरिने जानकारी दिइएको छ।
बैठकले पार्टीभित्र उत्पन्न नियमित कि विशेष महाधिवेशन भन्ने विवादले कांग्रेसलाई विभाजनको सँघारमा पुर्याएको निष्कर्ष निकालेको छ। निर्वाचन आयोग र सर्वोच्च अदालतका पछिल्ला निर्णयहरूलाई बदनियतपूर्ण र अन्यायपूर्ण ठहर गर्दै उक्त समूहले विधिको शासनका लागि अझै पनि एकताको पहल गरिरहेको दाबी गरेको छ। यद्यपि, संस्थापन पक्षले अनौपचारिक संवादमा सहमति जनाए पनि व्यवहारमा फरक ढङ्गले प्रस्तुत हुने गरेकाले एकता प्रक्रियामा बाधा पुगेको उक्त पक्षको ठहर छ।













