धनगढी । कञ्चनपुरमा च्याउ टिप्न जंगल गएकी १४ जना महिला सम्पर्कविहीन भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी टेकबहादुर रावतका अनुसार भीमदत्त नगरपालिका- १९, दशरथ टोलका ती महिलाहरू आइतबार बिहान करिब ११ बजे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोस्टबाट निकुञ्जभित्र च्याउ टिप्न प्रवेश गरेका थिए ।
सम्पर्कविहीन हुनेमा सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार रहेका छन् ।
प्रहरीका अनुसार उनीहरू ९ जना र ५ जनाको दुई समूह बनाएर जंगलमा गएका थिए । हाल उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।













