धनगढी । कैलालीमा अवैध लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । जिल्लाका विभिन्न स्थानबाट मंगलबार अवैध लागूऔषधसहित ४ जना पक्राउ परेका हुन् ।
जिल्लाको धनगढी उपमहानगरपालिका–६ केआईसिंह चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ मिलिग्रामसहित भारत लखिमपुर खिरी बस्ने २४ वर्षीय सलमान खान,२५ वर्षीय जहिद अली र २१ वर्षीय महोमद असलाम पक्राउ परेको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले लागूऔषध सेवन गरिरहेको अवस्थामा चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको जनाएको छ ।
यसैगरी, जिल्लाको धनगढी उपमहानगरपालिका–२ सिसा पोष्ट नजिकबाट नियन्त्रित लागूऔषध स्पास नामक ८ ट्याब्लेटसहित सोही ठाउँ बस्ने १८ वर्षिय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त ट्याब्लेट फेला पारी पक्राउ गरेको जनाएको छ ।



















