धनगढी । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् ।
मुख्यमन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका हुन् ।
मुलुकमा विकसित राजनीतिक तथा सामाजिक अवस्था, विभिन्न क्षेत्रमा भइरहेका आन्दोलन, सम्भावित प्रदर्शन तथा झडपका घटना, साथै मनसुन सक्रिय भएसँगै प्रदेशका विभिन्न जिल्लामा आउन सक्ने बाढी, पहिरो र डुबानजस्ता विपद्बाट उत्पन्न हुनसक्ने बहुआयामिक चुनौतीबारे उनले छ्लफल गरेका हुन ।
मुख्यमन्त्री शाहको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले यही साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा र साउन १४ गते सिराहामा भएको दुई समुदाय बीच झडपमा परी मृत्यु भएका मृतकप्रति श्रद्धाञ्जलीसहित मृतक परिवारहरुमा समवेदना प्रकट गरेको छ ।
यस्तै सुनसरी र सिराहा लगायतका क्षेत्रमा भइरहेको समाजिक धार्मिक द्वन्द लगायतको परिवेशको प्रभाव यस प्रदेशमा पर्न सक्ने जोखिम प्रति पूर्व सचेत रहदै सामाजिक सद्भाव कायम गर्ने गराउने सम्बन्धमा सार्वजनिक अपिल गरिएको र सबै जिल्लामा सद्भाव र्यालीको आयोजना गर्न जिल्ला प्रशासन कार्यालयहरुमा सुचित गरिएको छ ।
साथै उक्त घटनाको कारण यस प्रदेशमा पनि शान्ति सुरक्षामा खलल पुग्न सक्ने सम्भाव्य घटनाको पूर्वानुमान गरी त्यस्ता घटना हुन नदिन सुरक्षा निकायहरुबाट पूर्वसर्तकता अपनाउन र तयारी अवस्थामा रहन तथा हाल मनसुनबाट सिर्जना हुनसक्ने विपद्लाई ध्यानमा राखी विपद् व्यवस्थापनको लागि पूर्व तयारी अवस्थामा रहन सबै सुरक्षा निकायहरुलाई निर्देशन दिइएको छ।
छलफलमा सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव बैकुण्ठप्रसाद अर्याल, उपरथी किरण केसी,सुदूरपश्चिम पृतना हेडक्वार्टर तेघरीका पृतनापति पवन खत्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव तेजप्रकाश जोशी,प्रदेश प्रहरी प्रमुख डिआईजी सानुराम भट्टराई, सशस्त्र प्रहरी बल नेपाल, ७ नम्बर वैद्यनाथ वाहिनीका बाहिनिपती दिगबिजय सुवेदीलगायतको सहभागिता रहेको थियो ।



















