धनगढी । कैलालीको गोदावरी नगरपालिका–५, गेटास्थित शहीद संघारी सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको शहीद भीमदत्त पन्तको शालिक एक विशेष समारोहका बीच अनावरण गरिएको छ।
गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले शालिकको अनावरण गर्दै शहीद भीमदत्त पन्तको त्याग, बलिदान र लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान नेपाली इतिहासका लागि सदैव प्रेरणादायी रहने बताए।
उनले शहीदहरूको सम्मान केवल औपचारिकतामा सीमित नराखी उनीहरूको विचार, आदर्श र योगदानलाई नयाँ पुस्तासम्म पुर्याउन आवश्यक रहेको धारणा व्यक्त गरे।
उनले शहीदहरूको स्मृतिलाई जीवन्त राख्न यस्ता स्मारकले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सत्य, न्याय, समानता र जनसेवाको मार्गलाई आत्मसात् गरी समृद्ध, सभ्य र जिम्मेवार गोदावरी निर्माणमा सबै नगरवासी एकजुट हुनुपर्नेमा जोड दिए।
शहीद संघारी सामुदायिक वन उपभोक्ता समूहले स्थानीय इतिहास तथा राष्ट्रिय विभूतिको सम्मान गर्दै शहीद भीमदत्त पन्तको योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले शालिक निर्माण गरिएको जनाएको छ।













