बाजुरा । बाजुरामा जंगली विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर बिरामी परेकी छन् ।
बडिमालिका नगरपालिका–७ धम्कनेका ५१ वर्षीय रामे थापा र उनकी ५० वर्षीया श्रीमती नाम्सरी थापाले सोमबार साँझ जंगली विषालु च्याउ खाएपछि अचानक स्वास्थ्य अवस्था बिग्रिएको थियो । दुवैलाई राति करिब १०:२० बजे उपचारका लागि जिल्ला अस्पताल मार्तडी लगिएको थियो ।
अस्पतालमा उपचारका क्रममा चिकित्सकले राति १०:४० बजे रामे थापालाई मृत घोषणा गरेका थिए । गम्भीर अवस्थामा रहेकी नाम्सरी थापाको जिल्ला अस्पताल मार्तडीमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै बाजुरा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा प्रहरी टोली घटनास्थल र अस्पताल पुगेको थियो । मृतकको शव जिल्ला अस्पताल मार्तडीमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













