धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालले कार्यालय समयभित्र निजी क्लिनिक तथा अन्य स्वास्थ्य संस्थामा सेवा दिने चिकित्सकमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।
अस्पतालले मंगलबार भए सूचना जारी गर्दै केही चिकित्सकहरू कार्यालय समयभित्रै बाह्य निजी क्लिनिक तथा अन्य स्वास्थ्य संस्थामा सेवामा संलग्न हुने गरेको गुनासो प्राप्त भएको जनाएको छ ।
नियमित सेवा प्रवाहलाई प्रभावकारी, गुणस्तरीय तथा सेवाग्राहीमैत्री बनाउन कार्यालय समयभित्र सबै चिकित्सकहरू आ–आफ्नो जिम्मेवारीमा उपस्थित भई निर्धारित कार्यसम्पादन गर्नपर्ने अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।
सूचनामा कार्यालय समयभित्र कुनै पनि चिकित्सक निजी क्लिनिक वा अन्य स्वास्थ्य संस्थामा सेवामा संलग्न भएको पाइएमा प्रचलित कानून तथा सेवा–शर्त बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने भनिएको छ ।













