धनगढी । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीले गत आर्थिक वर्ष २०८२/८३ मा चार लाख ८४ हजार ४५० पशु चौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाएको छ ।
विज्ञ केन्द्रले जिल्लाका १३ वटै स्थानीय तहका भैँसी, राँगा,गाईगोरु,बाख्रालगायत पशु चौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाएको हो ।
दुई लाख ६८ हजार भेडाबाख्रालाई पिपिआर खोप तथा एक लाख ५६ हजार ६ सय गाईगोरु र भैँसीराँगालाई खोरेतविरुद्धको खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीका सूचना अधिकारी विजयराम दमाईले जानकारी दिए ।
उनका अनुसार ३७ हजार गाईगोरुलाई लम्पी स्किनविरुद्धको खोप,२० हजार आठ सय ५० वङ्गुरलाई क्लासिकल स्वाइन फिवर र दुई हजार सामुदायिक तथा घरपालुवा कुकुरलाई रेविजविरद्धको खोप लगाइएको छ ।
खोप कार्यक्रम सञ्चालन गर्न जिल्लाभरि २५ जना पशु प्राविधिक खटिएको विज्ञ केन्द्रले जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा विज्ञ केन्द्र जिल्लामा छ लाख ९ हजार ९०९ पशु चौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाएको जनाएको छ ।
विज्ञ केन्द्रका अनुसार अघिल्लो आर्थिक वर्षमा २ लाख ९३ हजार ६५० गाईगोरु र भैँसीराँगालाई खोरेतविरुद्धको खोप, २ लाख ६७ हजार भेडाबाख्रालाई पिपिआर खोप र ४८ हजार गाईगोरुलाई लम्पी स्किनविरुद्धको खोप लगाएको थियो ।
त्यस्तै,२ सय ५० वङ्गुरलाई क्लासिकल स्वाइन फिवर र एक हजार नौ सामुदायिक तथा घरपालुवा कुकुरलाई रेविजविरद्धको खोप लगाइएको विज्ञ केन्द्रले जनाएको छ ।













