धनगढी। सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनका लागि आह्वान गरेको छ।
मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा स्वीकृत भएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।
मुख्यमन्त्री शाहले राजीनामा दिएसँगै सुदूरपश्चिममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा एमालेको सरकार बन्ने भएको छ । यी दुई पार्टीबीच केन्द्रमा भएको सहमतिअनुसार सुदूरपश्चिममा नेकपाले मुख्यमन्त्री पाउने भएको छ ।
सोही अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने भएका छन्।
प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि आज बिहान ११ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका छन्।
भट्टले नेकपा एमालेको समर्थनसहित तोकिएको समयभित्रै मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन्।
भट्टले दाबी पेस गरेपछि प्रदेश प्रमुख मियाँले शुक्रबार नै उनलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।
यसअघि गत असार ३१ गते एमालेले बजेटप्रति असहमति जनाउँदै कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
प्रमुख सत्ता साझेदारले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका शाहले बिहीबार प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए।
तत्पश्चात उनले प्रदेश प्रमुखलाई औपचारिक रूपमा राजीनामा बुझाए बुझाएका थिए ।














