धनगढी- कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले भेटघाट तथा प्रचार– प्रसार कार्यक्रमलाई तीब्रता दिएका छन् । ओझाले सोमबार घनगढी भित्रैका ५ वडामा मतदाताहरुसँग भेटघाट तथा प्रचार–प्रसार गरेका छन् ।
ओझाले सोमबार वडा नम्बर ३, वडा नम्बर ६, वडा नम्बर १८, वडा नम्बर १२ र वडा नम्बर १४ का मतदातासँग भेटघाट गरे । घरदैलो कार्यक्रमको अवसरमा बोल्दै उम्मेदवार ओझाले यस क्षेत्रका माग र आवश्यकता नै आफ्ना मुल एजेण्डा भएको बताए । ‘म स्वतन्त्र भएकोले मैले कुनै दलको एजेन्डा बोक्नु पर्दैन । न त कसैको नीति कार्यक्रममा बाँधिनुपर्छ,’ उनले भने, ‘यस क्षेत्रका जे माग र आवश्यक हुन तिनै मेरा एजेन्डा हुन्।’
यस क्षेत्रको विकास र आत्मसम्मान बचाउनु नै आफ्नो नीति कार्यक्रम रहेको उनले बताए । यस्तै आवश्यकता परिपूर्ति गर्दै यस क्षेत्रको समृद्धिका लागि आफ्नो पक्षमा मतदान गर्न उनले मतदातासँग अपिलसमेत गरे ।














