काठमाडौं- नेपाली क्रिकेट सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबार थुनछेक बहस सुरु भएको थियो । बुधबार बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
बुधबार सन्दीपका तर्फबाट अधिवक्ताहरू मुरारी सापकोटा र रोशनी पौडेलले बहस गरेका थिए । बहसका क्रममा आफूहरूले पीडित भनिएकी किशोरीको जन्मदर्ता र नागरिकतामा फरक उमेर पाइएको भन्दै जन्मदर्तालाई आधार मान्नुपर्ने माग इजलास समक्ष गरेको अधिवक्ता सापकोटाले बताए ।
आज बहस सकिएपछि अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश दिनेछ । सन्दीपविरुद्ध १७ वर्षीया किशोरीले आफूलाई बलात्कार गरेको भन्दै २१ भदौमा प्रहरीमा जाहेरी दिएकी थिइन् ।













