धनगढी- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा माओबादी केन्द्रले बलियो दाबेदारी प्रस्तुत गरेको छ । सुदूरपश्चिममा नेकपा एमाले र नेकपा माओबादी केन्द्रले मुख्यमन्त्रीमा दाबी गरिरहेका छन् ।
काङ्ग्रेस संगको गठबन्धन फुटेर नयाँ समीकरण बनेपछि यहाँ प्रदेशको मुख्यमन्त्रीमा खगराजले बलियो दाबी प्रस्तुत गरेका छन्।
माओबादी केन्द्रका स्थायी कमिटी सदस्यसमेत रहेको भट्टले आफूलाई मुख्यमन्त्रीमा सहयोग गर्न भन्दै पार्टीका शीर्ष नेता र एमालेका नेताहरुलाई भेटिरहेका छन् ।
यसैक्रममा नेता भट्टले नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई भेटेका छन् । बुधबार बिहान काठमाडौंस्थित लेखराज भट्टको निवासमा उनीहरुबीच भेटवार्ता भएको हो।
सुदूरपश्चिममा एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपाले सरकार बनाउने निश्चित छ। सुदूरपश्चिममा जम्मा ५३ सांसद रहेकोमा सरकार बनाउन २७ आवश्यक पर्छ।
अहिले यहाँ प्रदेश सभामा माओवादी केन्द्रसँग ११ र एमालेसँग १०, नागरिक उन्मुक्तिसँग ७ र राप्रपाको १ सांसद छन्। यस्तै सुदूरपश्चिममा काँग्रेसका १९, एकीकृत समाजवादीका ४ र एक स्वतन्त्र सांसद छन्।













