धनगढी । कैलालीको भजनीमा बोक्सीको आरोप लगाउँदै ५६ वर्षीया महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भजनी नगरपालिका–५, मिलनपुरका कृष्ण डंगौरा, राजु डंगौरा, राजन डंगौरा र उर्मिला डंगौरा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार पीडित महिलाले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । जाहेरीअनुसार महिला घरमा सुतिरहेको अवस्थामा पुगेका आरोपितहरूले बोक्सीको आरोप लगाउँदै गालीगलौज गरेका थिए । त्यसपछि ओछ्यानबाट तानेर लछारपछार गर्दै कुटपिट गरेको जाहेरीमा उल्लेख छ ।
महिलामाथि कुटपिट भइरहेको देखेपछि बचाउन पुगेका उनका नाति सञ्जित चौधरीलाई समेत आरोपितहरूले कुटपिट गरेको जाहेरीमा जनाइएको छ ।
घटनाबारे जाहेरी परेपछि इलाका प्रहरी कार्यालय भजनीले अनुसन्धान अघि बढाएको थियो । पक्राउ परेका चारै जनालाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।























