बैतडी – बैतडीमा जारी पन्ध्रौँ संस्करणको एनआरवाइसी टी–१० क्रिकेट प्रतियोगिताअन्तर्गत आयोजक एनआरवाइसी ‘ए’ सेमिफाइनलमा प्रवेश गरेको छ। लगातार दोस्रो जित निकाल्दै आयोजक एनआरवाइसी ‘ए’ सेमिफाइनलमा प्रवेश गरेको हो।
दोस्रो खेलमा आज एनआरवाइसी ‘ए’ले कालशैनी क्रिकेट क्लबलाई २९ रनले पराजित गर्यो। दशरथचन्द नगरपालिका–११ स्थित मावि बगलेखानको मैदानमा पहिला ब्याटिङ गरेको एनआरवाइसी ‘ए’ले निर्धारित १० ओभरमा ७ विकेटको क्षतिमा ९७ रन बनायो। जसमा सन्तोष विजलेले ३६ रनको योगदान गरे।
९८ रनको लक्ष्य पछ्याएको कालशैनी ६८ रनमा समेटियो। उसका टेकेन्द्र चन्दले १५ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा पराजित हुन पुग्यो। एनआरवाइसीका लागि सन्तोष विजलेले ४ विकेट हात पारे। सन्तोष खेलका म्यान अफ द म्याच समेत चुनिए।
यस्तै आजै भएका अन्य खेलहरूमा एनआरवाइसी ‘बी’, कालशैनी, नागार्जुन सिम ‘ए’ विजयी भएका छन्।
नागार्जुन रणसैनी युवा क्लब बठ्ठा (एनआरवाइसी)को आयोजनामा शुक्रबारदेखि शुरु भएको प्रतियोगिता पुस १९ गते सम्पन्न हुनेछ।
प्रतियोगिताको विजेताले २५ हजार, ट्रफी र मेडल तथा उपविजेता टोलीलाई १५ हजार, ट्रफी र मेडल पाउने आयोजक नागार्जुन रणसैनी युवा क्लबका वरिष्ठ सल्लाहकार श्यामबहादुर चन्दले जानकारी दिए।













