धनगढी- नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) अशोक सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। हाल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका सिंहविरुद्ध जन्ममिति तथा शैक्षिक योग्यताको प्रमाणपत्र नै नक्कली भएको दाबी गर्दै अख्तियारमा उजुरी दर्ता गरिएको हो।
उनीविरुद्ध काठमाडौंको बागबजार निवासी विश्वप्रकाश भेटवालले डीआइजी सिहंविरुद्ध बुधबार अख्तियारमा उजुरी दर्ता गराएका हुन् । सिंहले प्रहरी निरीक्षकमा नियुक्ति लिँदा भारतीय कलेजमा पढेको भनिएपनि त्यहाँ पढ्दै नपढी आइएको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको दाबी गरिएको छ ।
उजुरीमा सिंहले जन्म मिति सच्याएर र नक्कली शैक्षिक योग्यताको प्रमाण पेस गरेर जागिर खाएको आरोप लगाउँदै छानबिनको माग गरिएको छ। उमेर पनि सच्याएकाले उनी हाल बहालमा रहेको नत्र डीआईजीको ५६ वर्षे उमेर हदका कारण अवकाशमा गइसक्नुपर्ने दाबी गरिएको छ। भावी आईजीको दाबेदार डीआईजी सिंहको अहिले एआईजी बढुवाको लाइनमा छन्। सिंहकै ब्याचबाट आगामी चैतमा १ जना आईजी (महानिरीक्षक) हुनेछन् ।
















