काठमाडौं- नेपाली कांग्रेसका बरिष्ठ नेतासमेत रहेका नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौैडेलको राजीनामा स्वीकृत भएको छ । बिहीबार राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले आइतबार कांग्रेसबाट दिएको राजीनामा सभापति शेरबहादुर देउवाले स्वीकृत गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पौडेलको राजीनामा स्वीकृत गर्दै सभापति देउवाले कांग्रेसमा लामो समयसम्म आवद्ध रहेर राष्ट्रियता, लोकतन्त्र र पार्टी संगठनमा पौडेलले पुर्याएको अतुलनीय योगदानको उच्च सम्मान र कदर गरेका छन्। देउवाले राष्ट्रपति पदको गरिमा, मर्यादा, दायित्व र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरुप कार्यसम्पादन गर्न पौडेल सफल हुने विश्वास व्यक्त गरे। उनले पौडेलको कार्यकाल सदैब स्मरणीय रहनेछ भन्ने विश्वासका व्यक्त गर्दै शुभकामना दिएका छन्।
नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्बाङलाई पराजित गर्दै पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन्। राष्ट्रपतिमा निर्वाचित भएपछि पार्टी सदस्य रहन नमिल्ने कानुनी व्यवस्था छ। गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पौडेल तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।














