धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले होली (फागु पूर्णिमा) लगत्तै प्रदेश सभाबाट विश्वासको मत लिने योजना बनाएका छन् । सोही अनुसार उनी गृहकार्यमा जुटेको उनको सचिवालयले जनाएको छ ।
केन्द्रमा एमाले र माओवादी सहितका दल मिलेर नयाँ समीकरण बनाएपछि साविकका सत्ता साझेदार दलले मुख्यमन्त्री शाहको साथ छाडेका छन् । कांग्रेसबाट प्रतिनिधित्व गर्ने शाह यतिबेला आफ्नो पक्षमा बहुमत जुटाउने कसरतमा छन् ।
नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले कांग्रेस नेतृत्वको प्रदेश सरकारबाट आफ्नो समर्थन फिर्ता लिइसकेका छन् । यस्तो अवस्थामा मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टी, राप्रपा र स्वतन्त्र सांसदलाई साथमा लिएर विश्वासको मत प्राप्त गर्ने गृहकार्य थालेका हुन् ।
मुख्यमन्त्री शाहले भने, ‘हामी जुन दल र व्यक्तिसँग विश्वासको मत लिन खोजेका छौँ, उहाँहरुसँग छलफल जारी नै छ । सहमतिको नजिक–नजिक छौँ ।’
फाइनल सहमति हुन बाँकी रहेको तर आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको मुख्यमन्त्री शाहको दाबी छ । होली लगत्तै सत्ताका नयाँ साझेदारसँग ठोस सहमति गरी आफूले विश्वासको मत लिने उनले बताए ।
केही साता अगाडि नागरिक उन्मुक्ति पार्टीका थप सांसदलाई लिएर मन्त्रीमण्डल विस्तार गरेका मुख्यमन्त्री शाहले राप्रपाका एकमात्र सांसद खिमादेवी बिष्ट र स्वतन्त्र सांसद तारा जोशीलाई साथमा लिइ मन्त्रीमण्डल विस्तारको तयारी गरिरहेका छन् ।
















