धनगढी- सुदूरपश्चिम प्रदेशका जलस्रोत तथा शहरी विकास मन्त्री अक्कल रावलले एमालेबाट अर्थमन्त्री बनेका सुरेन्द्र पालले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट बीच बाटोमै छोडेर गएको आरोप लगाएका छन् ।
सोमबार मुख्मन्त्री कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै सबैभन्दा उत्कृष्ट भनिएको बजेट आफैंले ल्याएर आफैंले बीच बाटोमै छोडेर गएका कारण भोलि साउन १ गतेदेखि प्रदेश सरकार बेखर्ची हुने जोखिममा रहेको बताए ।
उनले बजेटको अन्योल कसरी हल गर्न सकिन्छ भन्ने बारेमा कानुनी छलफल गरेर अघि बढ्ने बताए ।
एमाले सरकारबाट बाहिरिएपछि आफ्नै दलका मन्त्रीले ल्याएको बजेटको स्वामित्व लिनबाट पछि हट्दा प्रदेशसभामा पेस भएको बजेट अलपत्र पार्ने काम गरेको उनले बताए ।
बजेट पेस गरेको दोस्रो दिन पत्रकार सम्मेलन गर्दै आफूले ल्याएको बजेट अहिलेसम्मकै उत्कृष्ट भएको जिकिर गरेका तत्कालीन अर्थमन्त्री पालले पदबाट राजीनामा दिइसकेपछि बोली फेरेको रावलको भनाइ थियो ।
मन्त्री रावलले बजेट कसैको व्यक्तिगत नभएर सबैको हितमा हुने भएकोले यसरी अलपत्र पार्नुमा एमालेले नै जिम्मावारी लिनुपर्ने बताए । उनले बजेट पारित गर्ने समयमा प्रदेश प्रमुख नजिर मियाँ नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ग्रहण समारोहको निम्तो पाएर दिउँसै काठमाडौं हिडेको बताए ।
नेकपा एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारी नेतृत्वको सरकारमा आर्थिक मामिलामन्त्री रहेका एमालेका सुरेन्द्रबहादुर पालले असार १ मा प्रदेशसभामा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट पेस गरेका थिए ।













