धनगढी । आइतबार रातीदेखि परेको भारी वर्षाका कारण कैलालीको धनगढी र गोदावरीका करिव ७०४ घर डुवानमा परेका छन् । जिल्ला प्रशाशन कार्यालय कैलालीले दिएको जानकारी अनुसार गोदारी र धनगढीको बजार र आसपासका घरहरु डुवानमा परेका छन् । मानवीय क्षती र विस्थापित कोही पनि नभएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिबराज जोशीले निशाना न्युजलाई जानकारी दिए ।
धनगढी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र,चटकपुर शिवनगर, क्याम्पस रोड, रातो पुल, हसनपुर, तारानगर, विशालनगर, शिक्षा टोल, श्रीलंका राजपुरत्रिबेणी घाट,वडरा,तिल्केताल क्षेत्रका २५४ घर र गोदावरी नगरपालिका ४, र ५ का ४५० घर डुवानमा परेको उनले बताए ।
डुबानमा परेर फसेका धनगढी उपमहानगरपालिका– ७, बेलीगाउँका सात जना र धनगढी– १३, श्रीलंकाका चार जना गरी ११ जनाको उद्धार गरिएको उनले बताए । धनगढी ८ क्याम्पस चोकमा रहेको निर्मल ट्रेडर्सको गोदाममा पानी पस्न गई सामान भिजी एक लाख ५० हजार मुल्यका सामानमा क्षेती भएको उनले बताए ।
त्यस्तै धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा पनि पानी पसेको छ । अस्पतालले स्वीपर लगाएर पानी फालेको छ ।















