धनगढी । सुर्खेतको वीरेन्द्रनगरमा कोपिला भ्याली सेवा समाजद्वारा सञ्चालित कोपिला भ्याली स्कुल वातावरणीय कार्य विधामा पुरस्कार छनोटका लागि विश्वकै शीर्ष १० मा पर्न सफल भएको छ ।
बेलायतको एउटा शैक्षिक संस्था टी–फोर एजुकेशनले हरेक वर्ष विश्वका शैक्षिक संस्थाहरुलाई प्रदान गर्ने विभिन्न विधाका पुरस्कार अन्तरगत सन् २०२५ को लागि वातावरणीय कार्य विधामा शीर्ष १० मा पर्न सफल भएको हो । आज धनगढीमा पत्रकार सम्मेलन गर्दै समाजले सोबारे जानकारी दिएको छ ।
कोपिला भ्याली टी–फोर एजुकेशनले प्रदान गर्ने सामुदायिक सहकार्य,वातावरणीय कार्य,नवप्रर्वतन,प्रतिकूलतामाथि विजय हासिल गर्ने,स्वस्थ जीवनलाई सहयोग गर्ने पाँच विधाका पुरस्कारमध्ये वातावरणीय कार्य विधामा शीर्ष १० मा छनोट भएको कोपिला भ्याली सेवा समाजका अध्यक्ष गोगनबहादुर मल्लले जानकारी दिए ।
यो प्रतियोगितामा नेपालबाट अन्तिम सूचीमा परेको एउटा मात्रै कोपिला भ्याली स्कुल भएको उनले बताए । अहिले समुदाय छनोटका लागि सार्वजनिक मतदान सुरु भइसकेकोले मतदानका लागि उनले सबैमा अपील गरे ।
मतदान निःशुल्क रहेको बताउँदै उनले मतदानका लागि www.kopilavalley.edu.np मा गएर vote for kopila मा क्लिक गरि दिएको निर्देशन अनुसार मतदान गर्न सकिने बताए । मतदान असार २५ गतेसम्म चल्ने उनले बताए ।
उनले कोपिला भ्यालीले वातावरणीय दिगोपनालाई शिक्षाको अभिन्न अंग बनाउँदै अध्ययन गराइरहेको बताउँदै १२ सम्मको स्कुल सञ्चालन गरेर अनाथ तथा विपन्न बालबालिकालाई आवाससहित निःशुल्क शिक्षा दिइरहेको बताए । स्कुलमा हाल ४६० बालिका अध्ययनरत रहेको बताए ।














