धनगढी । कैलालीबाट करिब डेढ किलो लागुऔषध (चरेस)सहित ४ जना पक्राउ परेका छन् ।
गएराति विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–२ बझाङ विपिन होटेलबाट एक जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रणबहादुर चन्दको कमान्डमा खटिएको प्रहरी टोलीले उक्त होटलबाट बझाङको छबिसपाथिभारा गाउँपालिका–७ का ३९ वर्षीय गगन बोहरालाई पक्राउ गरेको हो । उनको साथबाट १ किलो चरेस बरामद गरिएको जनाइएको छ ।
गएराति नै गोदावरी नगरपालिका–१ भरतपुरबाट ४६९ ग्राम लागु औषध चरेससहित ३ जनालाई पक्राउ गरेका छ । हिँडिरहेको अवस्थामा शङ्का लागि चेकजाँच गर्दा बैतडीको सुर्नया गाउँपालिका–३ का २८ वर्षीय चन्द्रसिंह ऐरी, सोही ठाउँका २५ वर्षीय मोहन भट्ट र २५ वर्षीय महेश बिकलाई चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।















