कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याइएको ११ क्विन्टलभन्दा बढी तोरीसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको बेलौरी नगरपालिका-२ बैजुडाँडाबाट ११ क्विन्टल २६ किलो तोरीसहित सोही ठाउँका ४२ वर्षीय मनोज चौधरी पक्राउ परेका हुन् ।
उक्त तोरीको अनुमानित मूल्य एक लाख ४८ हजार ६३२ रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बिहीबार उनलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका चौधरी र बरामद तोरीलाई आवश्यक प्रक्रिया पूरा गरी कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय धनगढी पठाइएको प्रहरीले जनाएको छ।















