धनगढी । कैलालीसहितका विभिन्न जिल्लामा आज (मंगलबार) थारू समुदायमा गुरही पर्व मनाइँदै छ । हरेक थारू गाउँमा पहिलो पर्वको रूपमा मनाइने गुरही पर्व हरेक वर्ष नागपञ्चमीको दिन मनाइँदै आएको छ ।
गुरही बालबालिकासँग सम्बन्धित पर्व रहे पनि पछिल्लो समय युवायुवतीसहित सबै उमेरका व्यक्तिले मनाउने गरेको स्थानीय बताउँछन् । यो पर्वमा कपडाको गुरहा गुरही (गाइने किरा) बनाएर अपराह्नतिर चौर वा चौबाटोमा सेलाउने चलन रहेको थारु संस्कृतिका जानकार बताउँछन् ।
बालिका वा केटीहरूले गुरहीसहित घुघ्री (मकै, केराउ वा चनाको भुजा) फाल्ने गर्दछन् । फालिएको गुरहीलाई सोंता वा लट्ठीले बालक, केटाहरूले ‘दे घुघ्री दे घुघ्री’ भन्दै ठटाउने/पिट्ने चलन रहेको छ । यसलाई स्थानीय भाषामा गुरही अस्रैना भनिन्छ । गुरही पर्व मनाउनाले बालबालिकालाई रोगव्याधीबाट छुटकारा मिल्ने तथा उनीहरूलाई आँखा पाक्ने, ज्वरो आउने जस्ता समस्या नहुने विश्वास गरिन्छ । गुरहीलाई ठटाउनु, पिट्नुको अर्थ रोगव्याधीलाई पिटेर गाउँबाट धपाएको बुझिन्छ ।
गुरही पर्वको अवसरमा कैलाली र कञ्चनपुरका अधिकांश स्थानीय तहले स्थानीय बिदा पनि दिएका छन् ।













