धनगढी । कैलालीमा चक्कु प्रहारबाट एक युवतीको मृत्यु भएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका–१ मा रहेको ‘राजधानी सेकुवा एण्ड मःम सेन्टर’मा कार्यरत याचना सेजवालको चक्कु प्रहारबाट मृत्यु भएको हो ।
जिल्ला प्रहरी कायालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार सिंहका अनुसार शनिबार बिहान सोही सेकुवा एण्ड मःम सेन्टरमा काम गर्ने बर्दगोरिया–१ का ३३ वर्षीय नृप साउदले गरेको चक्कु प्रहारबाट १७ वर्षीया सेजवालको मृत्यु भएको हो ।
चक्कु प्रहारबाट घाइते याचनालाई उपचारका लागि तत्काल धनगढीस्थित निसर्ग हस्पिटल ल्याइएकोमा उनको उपचारका क्रममा मृत्यु भएको हो डिएसपी सिंहले जानकारी दिए ।
याचनामाथि चक्कु प्रहार गर्ने साउदलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ। चक्कु प्रहार गर्नुको कारण खुलेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













