कैलाली । नेपालमा युद्ध चलिरहेको थियो । युद्धका कारण धेरै मानिसहरु देश छोडेर अन्यत्र जान थालेका थिए । २०५८ सालतिर युद्ध उत्सर्गमा पुगेको थियो । सोही बेला गोदावरी नगरपालिका–३ चौकीडाँडा बस्ने जानकी मलासीका श्रीमान जिल्ला प्रशासन कार्यालय डोटीमा जागिरे थिए ।
तत्कालीन अवस्थामा विद्रोही पक्षको कुटाइबाट उनका श्रीमानको मृत्यु भयो । जानकीको जीवनको त्यो कालो दिन थियो । उनी २९ बर्षको उमेरमा नै एकल महिला हुन पुगिन् ।
उनी जस्तै एकल महिला उनको सम्पर्कमा आउन थाले । ‘एक महिला २ वटा नानीबावु लिएर म कहाँ आउनुभयो’ उनले भनिन् ‘ती महिलालाई केही दिन आफ्नो घरमै राखेर अनाथालयको खोजीमा लागेँ । आफ्नो दुःख पीडा थाती राखेर उनको व्यबस्थापनमा खटिरहे । केही सिप लागेन पछि मैले सोचे आफै आश्रम खोल्नु पर्छ ।’
त्यसपछि जानकीले २०७३ अषाढ ११ गते गोदावरी नगरपालिका–२ मा श्री महिला तथा बालबालिका सेभ हाउस स्थापना गरिन् । २ वटा नानीबावु राखेर सेभहाउस खोलेको उनी बताउँछिन् । धेरै दुःखकष्ट पार गर्दै सेभहाउसमा छोटो समयमा नै १२ जना अनाथ बालबालिका पुगेको उनले बताइन् । थपिँदै जाँदा ४९ जना बालबालिका पुगेको र सेभ हाउसमा हुर्काएर ती बालबालिकालाई पछि पुनःस्थापना गरेको उनी बताउँछिन् ।

उनले भनिन् ‘एक जना वकिल पढिरहेका छन् । एक बालिका बैंकंमा जागिरे छन् । एक जना गायक छन् । १९ जना काम गर्न भारत गएका छन् ।’ २०७५ सालसम्ममा ५३ जना अनाथ बालबालिका सेभ हाउसमा पुगेकोे उनले बताइन् । पुनःस्थापना हुँदै थपिँदै जानथालेपछि बालबालिकाको पढाइलेखाइ खानको समस्या हुन थालेपछि खाने व्यवस्था र कोठा भाडा तिर्न किसान बहुउदेश्यीय सहकारी संस्थाबाट ६० हजार ऋण लिएको उनले बताइन् ।
उनले भनिन् ‘पछि मुठीदान अभियान संचालन ग¥यौँ । सबैले सहयोग पनि गरे । त्यो अभियान २०७५ मा ६ महिनासम्म संचालन ग¥यौँ ।’
स्थानीय सरकार आइसकेपछि गोदावरी नगरपािलकाले एक लाख र गोदावरी नगरपालिकाका वडाले एक लाख राहत प्रदानपछि केही सहज भएको उनी बताउँछिन् ।
प्रत्येक बर्ष गोदावरी नगरपालिकाले रकम बढाएर ४ लाख पु¥याएको उनले बताइन् । अछाम बैतडी,बाजुरा,डोटी, डडेल्धुरा, कैलाली लगायतका क्षेत्रका अनाथ बालबालिका आउने गरेको उनको भनाइ छ । अहिले सेभ हाउसमा ३७ जना अनाथ बालबालिका रहेको उनले बताइन् ।
उनले २ महिनादेखि १६ बर्ष उमेर समूहका बालबालिका रहेको बताइन् । ‘सेभ हाउसका लागि गोदावरी–३ चौकीडाँडा महिला सामुदायिक वन उपभोक्ता समूहको खाली जमिनमा भवन निर्माण गर्ने प्रस्ताव गरेका थियौँ’, उनले भनिन् ‘भवन निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले ३० लाख र गोदावरी नगरपालिकाले १० लाख बजेट छुट्याएको थियो । स्थानीयको विरोधपछि बजेट फ्रिज भयो ।’
अहिले भवनको समस्या भएको उनले बताइन् । अहिले पदमा अस्पतालको खाली भवनमा बसिरहेको र डा नरबहादुर मौनीले सहयोग गरिराखेको उनको भनाइ छ । कसैले पनि दुःख नपाउन भन्ने उदेश्य बोकेर यो अभियानमा आफू होमिएको उनको भनाइ छ । आफ्नो सास रहँदासम्म अनाथ बालबालिकाको हेरचाहमा लागि रहने उनले बताइन् । यो अभियानमा सबैको साथ सहयोग रहने उनको विश्वास छ ।















