धनगढी । “समृद्ध राष्ट्र निर्माणका लागि सङ्कल्प अभियान नेपाल”ले कञ्चनपुरको गड्डाचौकीबाट स्वतन्त्र एकता महाकाली–मेची यात्रा सुरु गरेको छ।
“राष्ट्रियता, सुशासन, समृद्धि र एकता” भन्ने मूल नारासहित आजबाट सुरु भएको अभियानको उद्घाटन सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. तारा जोशीले गरेका हुन् । उनले अभियान संयोजक भट्टलाई राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै शुभारम्भ गरेका हुन् ।
डा. जोशीले मुलुकलाई आर्थिक समृद्धिको बाटोतर्फ अघि बढाउन नागरिकले पार्टीको कार्यकर्ता नभई देशको कार्यकर्ता बन्न आवश्यक रहेको धारणा राखे । जोशी २०७९ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्।
मुलुक आर्थिक रूपमा जटिल अवस्थामा रहेका बेला युवाहरूले पार्टीको झन्डा होइन, नेपालको झन्डा बोकेर अघि बढ्नुपर्छ भन्ने दृढ संकल्पसहित अभियान सुरु गरिएको संयोजक प्रेमराज भट्टले बताए ।
अभियानमा संयोजक भट्टसँगै धनबहादुर बोगटी, खेमराज जोशी, भरतविक्रम शाह, राजन खड्का, गणेश शाहलगायतको सहभागिता रहेको छ।















