धनगढी । धनगढी उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई सेवा लिन सहज होस् भन्ने उद्देश्यले कार्यालय परिसरमा ह्विलचेयरको व्यवस्था गरेको छ।
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले उपमहानगरपालिका कार्यपालिका कार्यालयमा सेवा लिन आउने अपाङ्गता भएका व्यक्तिहरूको सहज आवतजावत तथा सेवा प्राप्तिलाई ध्यानमा राख्दै मुख्य गेटमै ह्विलचेयरको व्यवस्था गरिएको जानकारी दिएका छन्।
कार्यालयमा सेवा लिन आउने अपाङ्गता भएका व्यक्तिहरूले आवश्यकताअनुसार गेटमा उपलब्ध ह्विलचेयर प्रयोग गरी सहज रूपमा कार्यालयभित्र प्रवेश गर्न र सेवा लिन सक्ने उपमहानगरपालिकाले जनाएको छ।
सेवा प्रवाहलाई थप सहज, पहुँचयोग्य र नागरिकमैत्री बनाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको प्रमुख हमालले बताएका छन्।



















