धनगढी । कञ्चनपुरमा अवैध लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।
प्रहरीले पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार पुनर्वास नगरपालिका-४ स्थित साहरा इँटाभट्टा नजिकबाट ८ ग्राम १५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित तीन जना पक्राउ परेका छन् ।
भारतबाट नेपालतर्फ लागूऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका-६ लालपुरका २८ वर्षीय राजेश कोली, २२ वर्षीय सुरेश कोली र भारतको लखिमपुर खिरीका ३० वर्षीय राम पुकार रहेका छन्। बुधबार दिउँसो भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरू सवार भारतीय नम्बर प्लेटको यूपी ३१ सीपी ६९७८ र सुदूरपश्चिम प्रदेश ०१-०१३ प ६७६३ नम्बरका मोटरसाइकल चेकजाँच गर्दा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
यसैगरी, बेलौरी नगरपालिका-६ स्थित बसपार्कबाट ९०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित शुक्लाफाँटा नगरपालिका-१० का १८ वर्षीय किशोर पक्राउ परेका छन् । बुधबार साँझ शंकाका आधारमा चेकजाँच गर्दा लागूऔषध फेला परेपछि इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।



















