धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले नगरवासीका लागि सञ्चालन गरेको निःशुल्क शव चिस्यान सेवा प्रभावकारी बन्दै गएको छ ।
उपमहानगरपालिकाले आफ्नै लगानीमा पछिल्ला तीन वर्षदेखि ६ वटा शव चिस्यान सेवा सञ्चालन गरिरहेको छ । हालसम्म ७९८ जनाले यो सेवा लिइसकेका छन् ।
नगर प्रहरी बलले शव चिस्यान आवश्यक पर्ने परिवारलाई घरमै पुगेर निःशुल्क सेवा उपलब्ध गराउँदै आएको छ । दाहसंस्कारपछि नगर प्रहरीले नै चिस्यान फिर्ता लिएर आउने व्यवस्था गरिएको छ ।
विद्युत्बाट सञ्चालन हुने चिस्यानमा शव सुरक्षित राख्न सकिन्छ । उपमहानगरपालिकाका अनुसार विदेश तथा घरबाट टाढा रहेका आफन्तको प्रतीक्षामा मृतकको शव लामो समयसम्म सुरक्षित राख्नुपर्ने बाध्यता हुने भएकाले यो सेवा सुरु गरिएको हो ।
मृत्युलाई रोक्न सकिँदैन । तर, कसैको मृत्यु भएपछि आफन्तजन नआउँदासम्म शवलाई सुरक्षित राख्न सकियोस् भनेर नगरवासीका लागि निःशुल्क शव चिस्यान सेवा सञ्चालन गरेको बताइएको छ ।
उपप्रमुख कन्दकलाकुमारी रानाले विदेश वा घरबाट टाढा रहेका परिवारका सदस्य घर आइपुग्न समय लाग्दा शव सुरक्षित राख्न समस्या हुने भएकाले यो सेवाले अन्तिम दर्शनका लागि सहयोग पुर्याएको बताइन् ।
धनगढी उपमहानगरपालिकाले विपन्न परिवारका लागि दाउरा तथा किरिया खर्चबापत ५ हजार रुपैयाँ नगद र निःशुल्क शववाहन सेवा पनि दिँदै आएको छ । उपप्रमुख रानाले धनगढीलाई क्रमशः कल्याणकारी नगरका रूपमा विकास गर्दै लगिएको बताइन् ।














