धनगढी । पश्चिम तराईका थारु समुदायले आज गुहरी पर्व धुमधामका साथ मनाउँदै छन् । हरेक वर्ष नागपञ्चमीको दिन सामुहिक रुपमा मनाइने यो पर्वका लागि थारु समुदायले केही दिन अघिदेखि तयारी गर्दै आएका छन् ।
थारु समुदायले मनाउने गुरही पर्व एक विशिष्ट सांस्कृतिक पहिचान बोकेको जनविश्वास छ । विशेषगरी पश्चिम नेपालका कैलाली, कञ्चनपुरलगायत जिल्लामा बसोबास गर्ने थारु समुदायले यो पर्वलाई विशेष महत्त्वका साथ मनाउँछन् ।
यो पर्व श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीको दिन मनाइन्छ । नागपञ्चमीमा विशेषगरी नेपालीहरू नागको पूजाआजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पर्व मनाउने गरिन्छ ।
गुरही पर्व खासगरी बालबालिकासँग सम्बन्धित मानिन्छ । पछिल्लो समय सबै उमेर समूहका मानिसहरूले यो पर्व मनाउने गरेका छन् । यो पर्वमा कपडाको गुरहा गुरही (गाइने किरा) बनाएर अपराह्नतिर चौर वा चौबाटोमा सेलाउने चलन रहेको जानकारहरु बताउँछन् । बालिका वा केटीहरूले गुरहीसहित घुघ्री (मकै, केराउ वा चनाको भुजा) फाल्ने गर्दछन् । फालिएको गुरहीलाई सोंता वा लट्ठीले बालक, केटाहरूले ‘दे घुघ्री दे घुघ्री’ भन्दै ठटाउने/पिट्ने चलन रहेको छ । यसलाई स्थानीय भाषामा गुरही अस्रैना भनिन्छ ।
गुरही पर्व मनाउनाले बालबालिकालाई रोगव्याधीबाट छुटकारा मिल्ने जनविश्वास रहेको छ । यसैगरी, उनीहरूलाई आँखा पाक्ने, ज्वरो आउने जस्ता समस्या नहुने विश्वास गरिन्छ । गुरहीलाई ठटाउनु, पिट्नुको अर्थ रोगव्याधीलाई पिटेर गाउँबाट धपाएको बुझिन्छ ।



















