धनगढी । समस्या र आर्थिक संकटका बीच पनि व्यवसायलाई निरन्तरता दिन सके सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् धनगढी उपमहानगरपालिका–५ तारानगरका शमशेर चन्द ।
नौ वर्षअघि ८ लाख रुपैयाँ लगानी गरेर सुरु गरेको ‘केदारबाबा फोटो फ्रेम’ पसल अहिले चन्दको परिवारको मुख्य आम्दानीको स्रोत बनेको छ ।
फोटोमा फ्रेम भर्ने कामबाट व्यवसाय सुरु गरेका चन्दले सुरुवाती दिनमा दिनरात मेहनत गर्दै ग्राहकको रुचिअनुसार सेवा दिन थाले । उनको कामको चर्चा बढ्दै गएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट समेत माग आउन थाल्यो ।
व्यवसाय विस्तार हुँदै गएपछि चन्दले फोटो फ्रेमको व्यापारलाई होलसेलमा समेत विस्तार गरे । व्यापार राम्रो चलिरहेका बेला उनले चार जना कर्मचारीसमेत राखेका थिए ।

तर, कोरोना महामारीले उनको व्यवसायमा ठूलो धक्का पुग्यो । लकडाउन र त्यसपछिको आर्थिक मन्दीका कारण व्यापारमा आएको गिरावटले लगानी नै डुब्ने अवस्था पुगेको चन्द बताउँछन् ।
‘व्यापारमा घाटा भएपछि कर्मचारीलाई तलब दिन सक्ने अवस्था रहेन । अन्ततः कर्मचारीहरूले पनि छोडेर गए,’ उनले भने ।
तर, कठिन परिस्थिति आए भन्दैमा व्यवसाय छाड्ने सोच भने उनले बनाएनन् । श्रीमतीको सहयोगमा व्यवसायलाई निरन्तरता दिँदै लामो समय मेहनत गरेपछि अहिले व्यापार पुनः लयमा फर्किएको चन्द बताउँछन् ।
व्यवसाय सञ्चालनका क्रममा सामान खरिद गर्न रकम अभाव भएपछि भने उनलाई धनगढीस्थित हिमशिखर सहकारी संस्थाको ऋण सहयोगले सहज बनायो । चन्दका अनुसार उनले सहकारीबाट तीन पटक गरी ६ लाख रुपैयाँसम्म ऋण लिएका छन् ।
‘हिमशिखर सहकारीबाट लिएको ऋणले व्यापारका लागि आवश्यक सामान जुटाउन सहज भयो । हामीजस्ता साना व्यापारीलाई सहकारीले गर्ने ऋण सहयोग निकै महत्वपूर्ण छ,’ उनले भने ।
सहकारीले ऋण तिर्ने व्यवस्थासमेत सहज बनाइदिएको चन्दको अनुभव छ । उनका अनुसार दैनिक व्यापारबाट भएको बिक्रीमध्ये ५ सय रुपैयाँ सहकारीका कर्मचारीले नियमित रूपमा संकलन गर्ने गरेका छन् ।
‘दैनिक बिक्रीबाट कर्मचारीले रकम संकलन गरिदिँदा ऋण घटेको पत्तै हुँदैन । यसले ऋण व्यवस्थापन गर्न निकै सहज भएको छ,’ उनले भने ।
चन्दका अनुसार अहिले फोटो फ्रेमको व्यवसायबाट परिवारको खर्च धानिनुका साथै मासिक करिब ४० हजार रुपैयाँ बचत हुने गरेको छ । यही आम्दानीबाट उनका एक छोरा बीबीएस दोस्रो वर्षमा अध्ययन गरिरहेका छन् भने अर्का छोरा र छोरीले कक्षा १२ उत्तीर्ण गरी थप अध्ययनको तयारी गरिरहेका छन् ।
‘अहिले आर्थिक अवस्था राम्रै छ । यही व्यापारबाट छोराछोरीको पढाइ र घरखर्च चलिरहेको छ,’ उनले भने ।
व्यवसायमा कहिलेकाहीँ घाटा हुँदैमा हरेस खान नहुने चन्दको बुझाइ छ । कठिन परिस्थितिमा पनि निरन्तर मेहनत र धैर्य कायम राख्न सके एक दिन सफलता हासिल गर्न सकिने उनको अनुभव छ ।














