धनगढी । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र बैतडीबाट प्रहरीले ४ लाख ५९ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध भन्सार छलीका सामान बरामद गरेको छ ।
प्रहरीका अनुसार बुधबार कैलाली, कञ्चनपुर र बैतडीका विभिन्न स्थानबाट भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका-२ स्थित फनपार्क नजिकबाट बुधबार राति जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले ५२ हजार रुपैयाँ बराबरका विभिन्न किसिमका कपडा, किरानालगायतका सामान बरामद गरेको छ ।
त्यस्तै, कञ्चनपुरका विभिन्न स्थानबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले ८९ हजार ४०० रुपैयाँ बराबरका चिनी, मिश्री, मिठाई, प्लास्टिक झिल्लीलगायतका सामान नियन्त्रणमा लिएको छ।
यस्तै, बैतडीको पञ्चेश्वर गाउँपालिका-४ स्थित तिमलेखालीको बिनायक जंगलबाट ३ लाख १७ हजार ७१० रुपैयाँ बराबरका चिनी, खानेतेल, मिठाई, ध्वजा/नेजा, नरिवल, जिरा, सुर्ती, नटबोल्ट, पेन्ट, पास्तालगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
तीनवटै जिल्लाबाट बरामद गरिएका सामान आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।



















