धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गहन छलफलमार्फत परिणाममुखी कार्ययोजना निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् ।
११औँ अनुसन्धान तथा प्रशिक्षण परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले नवीनतम सोच, नवप्रवर्तन र रूपान्तरणकारी योजनामार्फत सुदूरपश्चिम प्रदेशलाई समृद्ध बनाउन सकिने बताए ।
उनले राज्य सञ्चालन र विकासको विद्यमान कार्यसंस्कृतिमा परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै अनुसन्धानलाई तथ्यमा आधारित, परिणाममुखी र उपलब्धिमूलक बनाउनुपर्नेमा जोड दिए ।
प्रदेशको समग्र विकासका लागि योजना निर्माणमा मात्रै सीमित नभई त्यसको प्रभावकारी कार्यान्वयन र उपलब्धिको मूल्याङ्कनमा समेत ध्यान दिनुपर्ने उनको भनाइ थियो।
मुख्यमन्त्री भट्टले नवीन सोच र अनुसन्धानमा आधारित योजनाले विकासका प्राथमिकता पहिचान गर्न तथा उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले सुदूरपश्चिम प्रदेशको समृद्धि र रूपान्तरणका लागि अनुसन्धान, प्रशिक्षण तथा योजनाको कार्यान्वयनलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।























