धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिम सम्भावनाले भरिपूर्ण, वीरताका गाथा बोकेको र आफ्नै मौलिक संस्कृतिले सम्पन्न प्रदेश भएको बताएका छ्न ।
प्रदेशको समग्र विकास र समृद्धिका लागि सबैको सहयोग, सहकार्य र लगानी आवश्यक रहेको उनले बताए ।
शनिबार सुदूरपश्चिमेली नेपाली समाजको चौथो अधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले विश्वका विभिन्न देशमा रहेका सुदूरपश्चिमेलीलाई आफ्नो जन्मभूमिको विकासमा योगदान गर्न आग्रह गरे ।
उनले सुदूरपश्चिमको समुन्नत विकासका लागि विदेशमा रहेका नेपालीले आफ्नो क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए । व्यक्तिगत जीवनमा के कति उपलब्धि हासिल हुन्छ भन्ने निश्चित नभए पनि आफ्नो माटो, देश र सुदुरपश्चिम प्रदेशका लागि केही योगदान गरेर जानुपर्ने उनको भनाइ थियो।
मुख्यमन्त्री भट्टले सुदूरपश्चिमको विकासका लागि लगानीमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । लगानी भित्र्याउन आवश्यक वातावरण बनाउनेदेखि लगानीकर्तालाई आवश्यक सहयोग र सहजीकरण गर्न प्रदेश सरकार सधैँ तयार रहेको उनले उल्लेख गरे ।
सुदूरपश्चिमको विकास र समृद्धिका लागि विदेशमा रहेका सुदूरपश्चिमेलीको ज्ञान, सीप, अनुभव, पुँजी र प्रविधिको उपयोग गर्न सके प्रदेशको आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने उनको भनाइ रहेको छ।























