धनगढी– केन्द्रमा सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दाबी गरेको छ ।
अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व आफूहरुलाई चाहिने बताएकी छन् । नागरिक उन्मुक्ति सुदूरपश्चिम प्रदेशसभामा सरकार निर्माणका लागि निर्णायक छ ।
५३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि २७ सिट आवश्यक पर्छ । सरकार निर्माणका लागि नेपाली कांग्रेस र एमाले जुन दलले प्रयास गरे पनि नागरिक उन्मुक्ति पार्टीको साथ लिनैपर्ने बाध्यता छ ।
प्रदेशसभामा नेपाली कांग्रेसको १९, नेकपा एमालेको ११, माओवादी केन्द्रको १०, नागरिक उन्मुक्ति पार्टीको ७ र एकीकृत समाजवादीको ४ सिट छ । एकीकृत समाजवादीकै एक नेताले स्वतन्त्र हैसियतमा चुनाव जितेका छन् ।
सरकार निर्माणको साँचो आफ्नो हातमा रहेकाले नागरिक उन्मुक्तिले मुख्यमन्त्रीमा दावी गरेको हो ।
संघीय सरकारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गरेको छ ।
नागरिक उन्मुक्तिले केन्द्रमा पनि सरकारमा सहभागी हुन रेशम चौधरीलाई रिहाई गर्नुपर्ने मागलाई जोडदारका रुपमा उठाइरहेको छ ।













